
ताप्लेजुङ— ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा शनिबार आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेन्डमा पूरा गरे ।
प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भएका छन् । उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ सेकेन्डमा पूरा गरे । तेस्रो भएका फक्ताङलुङकै छत्रबहादुर कार्कीले एक घण्टा पाँच मिनेट ३० सेकेन्डमा दूरी पूरा गरे । प्रतियोगितामा एक महिलासहित ३२ जनाले सहभागिता जनाएका थिए ।
फुङलिङस्थित पुरानो बैंकबाट सुकेटार आसपासको सानो पाथीभरा मन्दिरसम्मको १३ किलोमिटरको दूरी सहभागीले १५ किलो बालुवासहितको भारी डोकोमा बोकेर दौडेर पूरा गरेका थिए ।
प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए ।