![विना र आभालाई लक्ष्मण र चन्द्रको 'उडीउडी चुप्पा' [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/udi-udi-chuppa--1697275572.jpeg)
काठमाडौं— युवा पुस्तामाझ भाइरल थेगो 'उडीउडी चुप्पा' बोलमा बनेको नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
सार्वजनिक भिडिओमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटक बाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडिओलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् ।
सार्वजनिक गीतको भिडिओमा निर्देशकले दुई जोडीको गज्जबको रोमान्स प्रस्तुत गरेका छन् । 'गीतको भावसँग मिल्ने गरि मोडल छनौट र कोरियोग्राफिको डिजाइन गरिएको हो । युवा पुस्तामाझ चर्चित थेगोमा आधारित रहेर बनेको गीत भएका कारण यो गीत पनि युवापुस्तामाझ चर्चित हुने अपेक्षा छ,' निर्देशक मौसम हिमालीले भने ।
लक्ष्मण भण्डारी युट्युब च्यानलबाट सार्वजनिक गीत 'उडीउडी चुप्पा' लाई तेजु मगर र उषा लामिछाने थापा मगरले संयुक्त रुपमा गाएका हुन् । गायक तेजु मगर कै संगीत रहेको गीतलाई हिरण मगरले लेखेका हुन् । एलबी डान्स एण्ड जुम्बाको प्रस्तुतीमा भिडिओ निर्माण भएको हो ।
मोडल समेत रहेका लक्ष्मण भण्डारीले काठमाडौं मै एलबी डान्स एन्ड जुम्बा कक्षा सञ्चालन गरिरहेका छन् । उनी आफै मोडल सँगै नृत्य प्रशिक्षक समेत हुन् । लक्ष्मण यसअघि राजेशपायल राईको चर्चित गीत समयको खेलमा समेत अभियन गरेका थिए ।
नृत्य, मोडलिङ र अभिनयमा करिअर बनाउन संघर्षरत भण्डारीले पछिल्लो पटक सार्वजनिक भएको यो गीतबाट आफू निकै आशावादी रहेको सुनाए । 'चर्चित थेगोमा बनेको गीत, उत्कृष्ट कास्टिङ केमेस्ट्री र मेकिङ भएका कारण यो भिडिओलाई दर्शकहरूले रुचाउनेमा म पूर्ण रुपमा विश्वस्त छु,' भण्डारीले भने, 'आगामी दिनमा पनि दर्शकहरूलाई मन पर्ने यस्तै थुप्रै सृजनाहरू लिएर आइरहने नै छु ।'
लक्ष्मणजस्तै गीतमा अभिनय गरेका चन्द्र गुरुङ, विना राउत र आभा थापा पनि भिडिओबाट आफूहरू निकै आशावादी रहेको प्रतिक्रिया दिए । सार्वजनिक भिडिओलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने नवीन घर्तीमगर यसका सम्पादक हुन् ।