
काठमाडौं— मनाङ एअरको एअर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ ।
प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एअर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको हो ।मनाङ एअरको नाइनएन-एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार हेलिकप्टर दुर्घटनामा परेको थियो । शनिबार बिहान सवा सात बजे उक्त हेलिकप्टर सोलुखुम्बुको लोबुचे भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटना हुँदा पाइलट प्रकाशकुमार सेढाइ घाइते भएका छन् ।
यसअघि मनाङ एअरको नाइनएन-एएमभी कलसाइनको हेलिकप्टर असार २६ मा पनि दुर्घटनामा परेको थियो । तीन महिनाको अवधिमा दुई पटक दुर्घटना भएको मनाङ एअरको हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
मनाङ एअरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि हाल ऊसँग हेलिकप्टर नै बाँकी छैन । सूचना अधिकारी भुलका अनुसार मनाङ एअरले अर्को हेलिकप्टर ल्याए पनि तत्काल उडान सञ्चालन गर्न पाउने छैन । ‘मनाङ एयरको समग्र चेकजाँच गरेपछि मात्र उडान सुरु गर्न दिने वा नदिने निर्णय हुन्छ,’ उनले भने ।













