![हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलटलाई थप उपचारका लागि काठमाडौं ल्याइयो [अपडेट]](https://newsgriha.com/uploads/posts/helicopter-1697257331.jpg)
काठमाडौं— सोलुखुम्बुको लबुचेमा हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । शनिबार लुक्लाबाट पर्यटक लिन लबुचे उडेको मनाङ एअरको नाइन-एनएनजे कलसाइनको हेलिकप्टर लबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो ।
हेलिकप्टरमा पाइलट प्रकाश सेढाईलाई फिस्टेल एअरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको हो । उनको हेम्स अस्पताल उपचार हुनेछ ।
हेलिकप्टरमा पाइलट सेढाई मात्रै सवार रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा पाइलट सेढाई घाइते भएका छन् ।
प्रत्यक्षदर्शी मिङमार नुरु शेर्पाका अनुसार शनिबार बिहान अन्दाजी सवा सात बजे लबुचेको हेलिप्याड मै दुर्घटना भएको हो । ४ हजार ९ सय मिटरको उचाईमा रहेको उक्त हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो ।













