News Griha :: न्यूजगृह
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको ‘अपराजिता’ उपन्यास विमोचन

काठमाडौै— पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ सार्वजनिक गरिएको छ । सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको यस पुस्तकको काठमाडौंस्थित कुञ्ज नाटक घरमा आज एक समारोहकाबीच लोकार्पण गरिएको हो ।

पुस्तकको लोकार्पण प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले चन्दको सरलता र सादापनबाट आजका पुस्ताका राजनीतिक व्यक्तित्वहरूले धेरै कुरा सिक्नुपर्ने बताइन् ।

८० वर्ष नाघिसकेको उमेरको यस कालखण्डमा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिनु र ‘अपराजिता’ जस्तो उत्कृष्ट कृति लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरा समेत भएको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘यस उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ, समृद्ध बनाउन मद्दत पुर्‍याएको छ । उहाँको यस्तो सक्रियता र लगनशीलताबाट अरू साहित्यकारहरूले समेत प्रेरणा लिनुपर्दछ ।’ 

लेखक चन्द राजनीतिक क्षेत्रमा एक शालीन राजनीतिक नेतृत्वका रूपमा चिनिएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘उहाँले राजनीतिक रुपमा खेलेको भूमिका सरल र सिद्धान्तनिष्ठ रहेको छ । संयोग नै भन्नुपर्छ उहाँ नेतृत्वको मन्त्रिमण्डलमा मैले पनि काम गर्ने मौका पाएकी थिएँ,’ भण्डारीले भनिन्, ‘आफूले त्यसैबेलाबाट चिन्ने मौका पाएको भन्दै भनिन्, ‘उहाँको सरलताबाट आजको पुस्ताले धेरै कुरा सिक्नुपर्छ भन्ने लाग्छ ।’   

‘प्रस्तुत पुस्तकमा लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरूको मार्मिक चित्रण गर्नुभएको छ,’ उनले अगाडि भनिन्, ‘उपन्यासका पात्रहरूको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरूको हत्या र हिंसाको विपक्षमा अनि शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई सशक्तरूपमा प्रस्तुत गर्नुभएको छ ।’

लोकार्पण समारोहमा संक्षिप्‍त मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा पुस्तकका लेखक चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुङ्ग्याएको बताए । उनले भने, ‘पराजितालाई उपन्यासको रूपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको छ ।’

कार्यक्रममा लेखन कुञ्ज तथा सिमल बुक पब्लिकेसनका सञ्चालक कमल ढकालले सत्ता र साहित्यलाई गाजलको कोठा भनिए पनि पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्द जहिल्यै पनि दागरहित र निष्कलङ्क रहेको बताउँदै भने, ‘लोकेन्द्रबहादुर चन्दजस्तो व्यक्तिको पुस्तक प्रकाशनमा सहकार्य गर्न पाउँदा गौरव अनुभूति भएको छ ।’ 

साहित्यकार पवित्रा दाहाल र रूकुमेली वाङ्मय प्रतिष्ठानका सचिव पूर्ण ओलीले उक्त पुस्तकको समीक्षा गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:५६
Weather Update