News Griha :: न्यूजगृह
एसीसी यू–१९ प्रिमियर कपमा नेपालले इरानलाई २७४ रनले हरायो

काठमाडौं— एसीसी यू–१९ प्रिमियर कपमा कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले इरानमाथि २७४ रनको सानदार जित हात पारेको छ ।

जितका लागि ३५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अल आउट भयो ।

इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए । साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे ।अन्य कुनै पनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए ।

हेमन्त धामी र आकाश चन्दले दुई/दुई विकेट लिए । त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर ३ सय ५३ रनमा अल आउट भएको थियो ।

नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए ।

समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:१५
Weather Update