
काठमाडौं— परराष्ट्र मन्त्रालयले इजरायल घटनाका मृतकहरूको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको छ ।
इजरायल घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयको विज्ञप्ति जारी गर्दै मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जनाएको हो । मृतकहरूको शव पहिचान गरी तत्काल नेपाल ल्याउन एवं घाइतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले जनाएको छ ।
इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकको विवरण सङ्कलनको लागि तेल, अबिबस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसनको तयारी भइरहेको मन्त्रालयले बताएको छ । परराष्ट्र मन्त्रीको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको र उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली राजदूतावास तेल अबिब, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमानालगायत क्षेत्रमा भएको आक्रमणमा १० नेपाली नागरिकको मृत्यु भएको छ । एकजना सम्पर्कमा नरहेको दूतावासले जनाएको छ । केही घाइते अवस्थामा रहेका पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराईएकोले उहांहरु मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहनु हुन अनुरोध छ ।
यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालय सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछ ।