News Griha :: न्यूजगृह
हमासको आक्रमणबाट इजरायलमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु
तस्बिर : एपी/रासस

काठमाडौं— प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणबाट इजरायलमा १० नेपालीको मृत्यु भएको छ ।

दक्षिणी इजरायलको अहर्जेलियामा रहेका १० नेपालीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले न्यूजगृहसँग कुरागर्दै पुष्टि गरिन् । मृतक सबै विद्यार्थी हुन् । उनीहरू 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।

मृत्यु हुनेमा कैलालीका नारायण न्यौपाने, बझाङका गणेशकुमार नेपाली, कैलालीका आशिष चौधरी, दार्चुलाका दिपेशराज विष्ट, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै डोटीका राजन फुलारा, डोटीका पदम थापा, सल्यानका प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

AP23281423322146-1696776323.jpg

सल्यानका विधान सेजुवाल,  दाङका प्रविण डाँगी घाइते छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ । कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् भने कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोस्टमा सुरक्षित छन् ।

राजदूत रिजालले भनिन्, ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौं । बाँकी घाइते र बङ्करमा सुरक्षित रहेकालाई पनि चाँडोभन्दा चाँडो उद्धार गर्न प्रयासरत छौं ।’

पछिल्लो पटक २०२२ को अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जबाफी कारबाही गरेको दाबी गरेको थियो ।

AP23281426959068-1696776317.jpgत्यसअघि सन् २०२१ मा रमदानकै महिनामा इजरायल-प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो । ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजाका २५० जना र इजरायलका १३ जना मारिएका थिए । इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । त्यस क्षेत्रलाई उसले प्यालेस्टाइनलाई छाडिदिएको थियो । त्यसयता कैयौँ पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किँदै आएको छ ।

AP23281394215928-1696776320.jpg

AP23281412627233-1696776317.jpg

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १९:५७
Weather Update