News Griha :: न्यूजगृह
साराशंकरले पाए सर्वोत्कृष्ट लोकदोहोरी भिडिओ निर्देशक अवार्ड

काठमाडौं— अभिनेता, निर्देशक, कोरियोग्राफर तथा गीतकार एकिन्द्र साराशंकरले राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड २०८० अन्तर्गत उत्कृष्ट भिडिओ निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका कमिटिको आयोजनामा भएको अवार्ड कार्यक्रममा  साराशंकरले सो अवार्ड प्राप्त गरेका हुन् ।

करिब डेढ दशक यता लोक तथा दोहोरी गीत क्षेत्रमा म्युजिक भिडिओ निर्देशकको रुपमा कार्यरत साराशंकरलाई जुरीले उत्कृष्ट निर्देशकमध्ये उत्कृष्ट ५ भित्र छनौट गरेको थियो ।

उत्कृष्ट मध्येबाट साराशंकर सर्वोत्कृष्ट निर्देशकको रुपमा छानिएका हुन् । कानुनमन्त्री धनराज गुरुङ, प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापामगर र प्रतिष्ठानकै उपत्यका कमिटिका अध्यक्ष अर्जुन थापाद्वारा हस्ताक्षरित विशेष प्रमाणपत्रसहित उनलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो ।

‘यो मेरो लामो समयको तपस्या र मेहनतको प्रतिफलको रुपमा मैले लिएको छु । प्रतिष्ठानले जुन हिसाबले अवार्डको लागि मलाई योग्य ठान्यो, त्यो मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो,’अवार्ड प्राप्त गरिसकेपछि साराशंकरले भने, ‘अवार्डले मेरो आगामी भिडिओमा अझै बढि मेहनत गर्ने हौसला दिएको छ । म मा अझै ठूलो जिम्मेवारी थपिएको महसुस गराएको छ अवार्डले ।’

बाग्लुङ तमानखोला गाउँपालिका बोंगादोभानका साराशंकर दुई दशकयता काठमाडौंमा रहँदै आएका छन् । लोकदोहोरी गीतका म्युजिक भिडिओ निर्देशन सँगै साराशंकर आफैं अभिनेताको रुपमा समेत चर्चित छन् । साथै उनी गीतकारको रुपमा पनि चर्चा कमाइसकेका छन् ।

पछिल्लो पटक मात्रै साराशंकरले पशुपति शर्मा र शान्ति श्री परियारको आवाजमा आफ्नो गीत ‘हाई सञ्चै’ बजारमा ल्याएका थिए । सो गीतको भिडिओमा उनी आफैंले अभिनय गर्नुका साथै निर्देशन समेत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:१७
Weather Update