
काठमाडौं— चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।
जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मद्दतमा १०० रन बनाए ।
दीपेन्द्रले भारतका कप्तान ऋतुराज गाइकवाडलाई १०औँ ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिपमिडविकेटमा क्याचआउट गराए । उनले २५ बल खेल्दै ४ चौका मद्दतमा २३ रन बनाए ।
त्यसपछि नेपालका सोमपाल कामीले भारतका तिलक बर्मालाई १२औँ ओभरको चौथो बलमा बोल्ड गर्दै दोस्रो सफलता दिलाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका तिलक १० बलमा २ रन बनाएर आउट भए । लगत्तै १३औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भारतका जितेश शर्मालाई कट एण्ड बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।
भारतका लागि शतक प्रहार गरेका जैसवाललाई दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अभिनाश बोहराबाट क्याचआउट गराए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका सन्दीपले ३ ओभरमा २८ रन खर्चिए ।