
मोरङ— गिरिजाप्रसाद कोइराला (जीपी) स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत शुक्रबार तीन खेल हुने भएका छन् ।
पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ ।
बिहीबार पनि तीन खेल सम्पन्न भएका थिए । विराटनगरको शहिद रंगशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।
पुलिसका लागि महेश धामीले पाँच तथा आयुष साह, केशव जोशी र रोहित लामाले एक/एक गोल गरेका थिए ।
यस्तै अर्को खेलमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई १३–० गोलअन्तरले हरायो । आर्मीका लागि रोमन रानाले छ, प्रदीप राजवंशीले तीन, अमरबहादुर गुरुङले दुई तथा रञ्जित राउत र देवसिंह धामीले एक/एक गोल गरेका थिए ।
यस्तै तेस्रो खेलमा कोशी प्रदेश र मधेस प्रदेशले बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट दुई/दुई गोल भएको थियो । कोशीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गरे भने मधेसका लागि पंकज दाहाल र राहुल साहले गोल गरेका थिए ।
यही चैत्र २७ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागिय टोली आर्मी र पुलिस क्लबका साथै कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
नेपाल हक्की संघद्वारा आयोजित उक्त प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।