काठमाडौं— चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भयाे ।
माल्दिभ्सका इस्माइली ३ रन र अजिन शून्यमा आउट भए । फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे । घानीले ३४ बलमा २ चौका र २ छक्का हाने । माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए ।
बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए । उनले ३.४ ओभरमा ११ रन खर्चिए । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । उनले २७ बलमा समान ३/३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे । गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे । कुशल मल्लले नटआउट ४७ रन जोडे । मल्लले २० बलमा ३ चौका र ३ छक्का हाने ।
नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे । त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।
विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए । यससँगै नेपाल एसियाली गेम्सको क्वाटरफाइनलमा पुगेको छ ।