
काठमाडौं— चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गतकोमङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौंमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल पूरै हेरिन् ।
शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई दुई सय ७३ रनको भारी अन्तरले पराजित गरेको थियो । शर्मिलामा कुनै खुसीको कुनै सीमा रहेन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलले हरेक खेल खेल्दा आमा शर्मिलाले प्रायः छोराको खेल नहेर्ने भए पनि यसपटक भने पूरै खेल हेरेकी हुन् । उनले छोरा कुशलको हरेक खेलमा आक्रामक प्रस्तुति हुने भएकाले कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ताले टिममा अन्य खेलाडीको प्रस्तुति हेरे पनि कुशलको खेल प्रायः नहेर्ने गरेको बताउँछिन् । तर यसपटकको खेल भने सुरुदेखि नै हेरेको र कुशलले निकै उत्कृष्ट खेलेको देख्दा खुसी लागेको उनले बताइन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी निवासी कुशलको परिवार हाल काठमाडौं चन्द्रागिरि नगरपालिका मातातीर्थमा बसोबास गर्दै आएको छ । 'म छोराको खेल कहिलेकाहीँ मात्र हेर्छु, ऊ सधैँ आक्रामक खेल्छ त्यसैले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ,' शर्मिलाले भनिन्, 'अस्तिको खेल त घरमा साग केलाउँदै सुरुदेखि नै पूरै हेरेँ निकै उत्कृष्ट प्रस्तुति पो देखायो त, अनि खुसीको कुनै सीमा नै रहेन ।'
कुशलका बुवा रोमन्त वैदेशिक रोजगारीमा छन् । मल्ल परिवारका एकमात्र सन्तान कुशल खेलकुदको क्षेत्रबाट देशकै नाम उँचो राख्ने गरी १९औँ एसियाली खेलकुदअन्तर्गतकोटी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएकोमा विदेशमा रहेका बाबु रोमन्त झनै खुसी छन् । कुशलका पिता रोमन्त पनि तेक्वान्दोका ब्याकबेल्ट प्राप्त खेलाडी पनि हुन् ।
कुशलका क्रिकेट गुरु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी तथा प्रशिक्षक शक्ति गौचन हुन् । जुन बेल कुशल बुटवलस्थित होराइजन स्कुलमा अध्ययन गर्थे त्यसबेलादेखि नै उनले क्रिकेटको योग्य प्रशिक्षक गौचनको साथ पाए । 'गौचन सरले घरमै कैयनपटक आएर हामीलाई समेत बाबुको क्रिकेटमा राम्रो सम्भावना छ, अगाडि बढ्न सक्छ भन्नुहुन्थ्यो,' शर्मिलाले भनिन्, 'अहिलेको अवस्थामा पुर्याउनमा गौचन सरले नै धेरै गर्नुभएको हो ।'
प्रतियोगितामा कुशलले जम्मा ३४ बलमा शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान कायम गरेका हुन् । उमेरले भर्खर १९ वर्ष पुगेका उनी नेपाली क्रिकेटमा बायाँहाते आक्रामक ब्याटर हुन् । उनको ब्याटिङ गर्दा छक्का वा चौका हुने सम्भावना प्रशस्त बन्ने गर्छ ।
कुशलको कीर्तिमानी शतक
एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका कुशलले अहिले फेरि नयाँ कीर्तिमान बनाएका छन् । उनले सन् २०२० मा आइसिसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । मल्लले १५ वर्ष तीन सय ४० दिनमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएको रेकर्ड दर्ज भएको छ ।
यसअघि नेपालका रोहितकुमार पौडेलले १६ वर्ष एक सय ४६ दिनमा युएईविरुद्ध अर्धशतकको कीर्तिमानलाई कुशलले पुनः रोहितको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका थिए । अहिले जारी एसियाली खेलकुदमा मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित एक सय ३७ रन अविजित बनाएर कीर्तिमान कायम गरे । उनले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ । क्रिकेट खेलको २७ वर्षे इतिहासमा नेपालले बनाएका विश्व कीर्तिमानको अहिले खुबै चर्चा भएको छ । १९औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटमा समूह ‘ए’मा रहेको नेपालले मङ्गोलियाविरुद्ध कीर्तिमानी प्रदर्शन गरेको थियो भने आइतबार अर्को मुलुक माल्दिभ्ससँग खेल्दैछ । समूह ‘बी’मा कम्बोडिया, जापान र हङ्कङ रहेका छन् ।