News Griha :: न्यूजगृह
‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाम— बिहीबारदेखि ‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट संघ धनुषा तथा सहयोग फ्याक्ट नेपाल र एनएमबि बैंकको रहेको छ ।

जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन राम–जानकी क्षेत्रीय अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालामा सुरु भएको प्रतियोगिता आगामी वैशाख १ गतेसम्म चल्नेछ ।

लिग प्रणालीमा खेलाइने प्रतियोगितामा मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका टोलीका साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका गरी १२ टोलीको सहभागिता रहने जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताका विजेतालाई दुई लाख ५१ हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र तथा उपविजेतालाई एक लाख ५१ हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगरप्रमुख मनोजकुमार साहले अन्तर्राष्ट्रिय रंगशालाको निर्माण गरी वि.सं. २०८३ मा हुने ११औँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका कार्यक्रम जनकपुरधाममा नै हुने गरी काम गरिने बताए ।

वक्ताहरूले रंगशालालाई मधेस प्रदेशको गौरवको योजना घोषणा गरी तीन तहका सरकारले बजेटको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  २२:३२
Weather Update