News Griha :: न्यूजगृह
बारामा गोली हानी एक जनाको हत्या
प्रतीकात्मक तस्बिर ।

बारा— नेपाल भारत दसगजा क्षेत्रमा गोली हानी मंगलबार साँझ एक युवकको गोली हत्या भएको छ । 

दसगजा भन्दा करिब ७०० मिटर नेपालतर्फ बाराको पचरौता नगरपालिका- ६ लक्ष्मिनियामा भारत मोतिहारी दर्पा थाना १, सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो । 

घट्नास्थलबाट प्रहरीले एक थान गोली र गोलीको खोका बरामद गरेको छ । सिंहको हत्या घटनामा भारतीय नागरिक संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

सिंहसँगै २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे,  २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी दुईवटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । 

मोटरसाइकलमा चलाएका सिंहलाई पछाडी बसेका सुजितकुमार सिंहले गोली प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।  उनीहरु फरार छन् । शव पोस्टमार्टको लागि नारायणी अस्पताल विरगन्ज पठाएको छ । 

हत्या गरिएका युवकसँगै आएका ४ जनाको समूहले कन्चट र घाँटीमा गोली हानी उक्त समूह फेरि भारततर्फ भागेको स्थानीयहरूले बताएका छन् । घटनास्थलमा तालिमप्राप्त कुकुर ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ३६ घण्टा नबित्दै सोही पालिकामा यो दोस्रो हत्या हो ।

आइतबार मध्य रातमा दसगजामा सशस्त्र प्रहरीका पूर्वजवान पचरौता १ पिपरपाती निवासी ३४ वर्षीय अमरेश सिंहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।  

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०४:३९
Weather Update