काठमाडौं— एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औं एसियाडको भव्य उद्घाटन भएको छ ।
चीनको हाङझाउमास्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औँ एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे ।
१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरू सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरू भएका थिए ।
तस्बिरहरु : सिन्ह्वा/एपी/एएफपी/रासस
चिनियाँ राष्ट्रपति सी र ओलम्पिक काउन्सिल अफ एसियाका कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो ।
त्यसपछि सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।
एसियाडको टर्च बालेपछि अन्तिममा १९ औँ एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।
कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल बिग लोटसको नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही हुनेछ ।