News Griha :: न्यूजगृह
खेलाडीले नेपाल टी–२० लिग खेलेको पैसा अझै पाएनन्, लेखे क्यानलाई पत्र

काठमाडौं— गत पुसमा भएको नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा फिजियोले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)को ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गरेका हुन् ।

उनले पत्रमा खेलाडी र टिमले पाउनुपर्ने रकम निकासा गर्न क्यानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको र कुनै पनि प्रक्रिया अगाडि नबढेकोले क्यानको ध्यानाकर्षण गरेको बताएका छन् ।

गत पुसमा भएको लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । तर प्रतियोगिता विवादमा परेपछि सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया भारत भागे ।

सेभेन थ्रीले नदिए आफूले पुरस्कार र पारिश्रमिक दिने प्रतिबद्धता नेपाल क्रिकेट संघ क्यानले गरेको थियो । त्यसपछि प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिता सहभागी ६ मध्ये २ टिमका खेलाडीले पारिश्रमिक पाएका छैनन् ।

लुम्बिनी अलस्टार्ससहित, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सले नेपाली खेलाडीलाई पारिश्रमिक दिएको भए पनि काठमाडौं नाइट्स र फारवेष्ट युनाइटेडले नेपाली खेलाडीलाई ५० प्रतिशत पारिश्रमिक दिन बाँकी छ ।

यी टिमले श्रमस्वीकृतीलगायतका कारण देखाउँदै विदेशी खेलाडीलाई रकम दिएका छैनन् । लिगको उपाधि विजेता लुम्बिनी अलस्टार्सले पनि अझै पुरस्कार रकम नपाएको गुनासो गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:३८
Weather Update