News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठकाे ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ गीत (म्युजिक भिडिओ) सार्वजनिक गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा सो गीत विमोचन गरे ।

गौरवशाली इतिहास बोकेको नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाले ओतप्रोत सो कृतिमा सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ ।

Prabhu Bank

नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ८० वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निः स्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को गीतमा प्रस्तुत गरिएको छ ।

स्रष्टा श्रेष्ठले एक वर्षअघि लेखेको गीतलाई नै अहिले म्युजिक भिडिओमा उतारिएको हो । उनका शब्दलाई शोभन सायजुले भिडिओ र युवा सङ्गीतकार राजेन्द्र बजगाइँले लय दिएका छन् ।

नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिनेश सुनामले सङ्गीत संयोजन गरेको गीतमा सुभाष तिमिल्सिना,  ‍गीता पाण्डेलगायत गायकका स्वर छन् ।

सो अवसरमा उपरथी श्रेष्ठले सेनाले संवैधानिक दायित्व, विकास निर्माण, शान्ति सेना, पर्यावरण, विपत्का समयमा उद्धार, खोजी र राहतका क्षेत्रमा धेरै योगदान दिँदै आएको जनाउँदै जनतामा सेनाको त्यो योगदान पुग्न नसकेको महसुस गरी आफूले गीत सिर्जना गरेको जानकारी दिए ।

‘सेना भनेको दौडने र कवाज खेल्नेमात्र होइन, राज्यको अखण्डता जोगाउने मूल खम्बा हो’,शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजका प्रमुख श्रेष्ठले भने,‘वीर पुर्खाको  योगदान र बलिदानबारे नागरिकको बुझाइमा एकरुपता नदेखिएको विषयले मलाई झक्झक्याएपछि गीत र छायाचित्रमार्फत तिनको योगदान उजागर गर्न प्रयत्न गरेको हुँ ।’

उपप्राध्यापक हेम भण्डारीले सो गीतमा लुकेको सैनिकको योगदान र राष्ट्रिय भावनासम्बन्धी विभिन्न पाटो र पक्षको समालोचना गर्दै सेनाले शान्ति सेनामा रही बुद्धको सन्देश विश्वभर फैलाएको तथा मुलुकको स्वाधीनताको रक्षाका साथै विकासनिर्माण, पर्यावरण संरक्षण, हिमाल सफाइ र खेलकुदका माध्यमबाट मान र सम्मान बढाउने काम गरेको उदाहरण दिए ।

म्युजिक भिडिओ निर्माता सायजुले राष्ट्रिय एकताका प्रतीक सेनाको बलिदानी र कर्तव्यपरायणतालगायत विषयवस्तुलाई गीत र भिडिओमा समावेश गरिएको जानकारी दिए ।  सो अवसरमा कृतिमा स्वर र सङ्गीत दिने कलाकारलाई प्रधानसेनापति शर्माले प्रशंसापत्र प्रदान गरेका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:००
राजनीति
विशेष
Weather Update