
काठमाडौं— राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका स्मृतिमा उनकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाखको अक्षयकोष स्थापना गरेकी हुन् । प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।
उक्त अक्षयकोषबाट आउने ब्याजबाट वार्षिक एक जना साहित्यकारलाई एक लाख राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’समेत प्रदान गरिने भएको छ । उक्त पुरस्कार नेपालको भाषा, साहित्य, कविता, काव्य, गीत, गीतिनाटक, महाकाव्य, निबन्ध, समालोचनालगायतको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
पुरस्कार वितरणका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने भएको छ । उक्त टोलीले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष असोज ७ गते सो पुरस्कार वितरण गरिने जनाइएको छ ।