News Griha :: न्यूजगृह
‘लोकगीत संरक्षणको दायित्व सरकारको हो’

पोखरा— गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लोकगीतको संरक्षणको दायित्व सरकारको भएको बताएका छन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोकगीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षण सरकारले ध्यान दिनुपर्ने बताए ।

दिवसको अवसरमा प्रतिष्ठानले २५ बालबालिकालाई दुई महिने सारङ्गीवादक प्रशिक्षण दिने भएको छ । परम्परागत लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बालबालिकालाई त्यस्तो प्रशिक्षण दिन लागिएको हो ।

प्रशिक्षणमा गन्धर्व समुदायका १५ जनासहित २५ बालबालिकाले सहभागिता जनाएका छन् । झलकमान गन्धर्व पाठशालाको सहकार्यमा प्रतिष्ठानले बिहीबारबाट प्रशिक्षण सुरु गर्न लागेको हो ।

सो अवसरमा प्रशिक्षार्थीले सारङ्गीको धुन प्रस्तुत गरेका थिए । प्राज्ञ दिलीप गायकले बालबालिकालाई प्रशिक्षण दिनेछन् । पाठशालाका लागि प्रतिष्ठानका तर्फबाट १० वटा सारङ्गी सहयोग गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २०:५५
Weather Update