
काठमाडौं— एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्करअवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ ।
चलचित्र विकास बोर्ड सदस्य राजु केसीको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति बनेको थियो ।
नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट सोमबार बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समिति सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।
उनका अनुसार सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो अवार्डका लागि नेपालस्थित समितिमा चलचित्रहरु ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र ‘बगान’का तर्फबाट सहभागिताका लागि आवेदन परेको थियो । मापदण्डअनुसार २०७९ असोज १५ गतेदेखि २०८० भदौ २९ अघिसम्म प्रदर्शन भएका चलचित्रहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।