
काठमाडौं— सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन आग्रह गरेकी छिन् ।
नेपाली चलचित्र उद्योगका विभिन्न संघ/संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले चलचित्रको गुणस्तर वृद्धिमा जोड दिएकी हुन् ।
‘हिजो चलचित्रको संख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको संख्या बढाउनु महत्त्वपूर्ण नै हुन्थ्यो’,उनले भनिन्,‘तर अब छायांकनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिस्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।’
नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउन चलचित्रकर्मीलाई लाग्न आग्रह गर्दै उनले यसमा आवश्यक कानुन र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।