News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— तीन महिनाभन्दा लामो समयदेखि निरन्तर ध्यानाकर्षण गराउँदा पनि सरकारले न्याय नदिएको भन्दै आरती साह परिवार आक्रोशित भएको छ । न्यायका लागि आवाज उठाउँदा प्रहरी प्रशासनले पीडितलाई न्याय दिनुको साटो खुट्टा ढोगाएको छ ।

आरतीको न्यायका लागि माइतीघर मण्डलामा तीन महिनादेखि धर्नामा बसेकाे उनको परिवारले राज्यले नागरिकलाई कानुनी शासनको प्रत्याभूति दिलाउनुपर्नेमा राज्य प्रशासनबाटै पीडा भएको  बताएको हो ।

सरकारले आफ्ना जायज मुद्दा बेवास्ता गरेको भन्दै आरतीको माइती पक्षले आम नागरिकलाई न्यायको लागि आवाज उठाउन अपिल गरेको छ ।

Prabhu Bank

राम्ररी नेपाली बोल्न नजान्ने मृतक आरतीकी बहिनीले आफूहरू न्याय माग्न जाँदा प्रहरी प्रशासनले दुःख दिएको र बयान फेर्न दबाब दिएको आरोप लगाइन् ।

प्रहरीले घटनापछि बयान लिन बोलाउँदा प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतमले आफूहरूलाई कुटेको उनको आरोप छ ।

उनले भनिन्, ‘त्यहाँका प्रहरी विश्वराज खड्काले हामी सबै जनालाई कुटपिट गरेर थुन्देको थियो । विश्वराज खड्काले जबर्जस्ती राति ९ बजेतिर गाडी पार्किङ गर्ने ठाउँमा लगेर जबर्जस्ती खुट्टा ढोग्न लगाए र मेरो बुबालाई धम्की दिए । तिम्रो छोरी त मरिन्, भएका अरु छोराछोरीलाई पनि मार्दिम ? कहाँ जान्छौं ? सीआईबी अनुसन्धान चाहियो रे, खुरुक्क साइन गर नत्र ज्यानमार्ने भनेर धम्की दिएर जहाँ भन्यो त्यहाँ सही छाप लगाएर र खुट्टा ढोगेपछि बल्ल हामीलाई त्यहाँबाट बाहिर निस्किन दिए ।’

मृतक आरती साहको आमा, भाइ, बहिनी र बुबा असार १ गतेबाट मृतक छोरीको न्यायको लागि भन्दै माइतीघरमा धर्नामा छन् ।

२०८० असार १ गते दाइजोको निहुँमा कुटपिट गरी साहको हत्या गरिएको र पीडक पक्षलाई प्रशासनको समेत संरक्षण रहेको साह परिवारको आरोप छ । यति लामो समयदेखि न्यायको अपिल गर्दा समेत प्रशासनले कुनै वास्ता नगरेकाे उनीहरुको गुनासो छ ।

लामो समयबाट अपराधीमाथि कारबाही र आफ्नो मृतक दिदीको न्याय माग गर्दै आएपनि कसैले नसुनेको भन्दै मृतकको भाइ प्रेम साहले सहयोगको याचना गरे ।

छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्न धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साहसहितका परिवार माइतीघरमा धर्ना बसेको छन् । छोरीले आत्महत्या गरेको नभइ घरका सदस्यले हत्या गरेको उनीहरुको दाबी छ ।

छोरीलाई दाइजो नल्याएको निहुँमा सासु रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी हत्या गरेको आमा निर्मलादेवीको जिकिर छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:०५
राजनीति
विशेष
Weather Update