
काठमाडौं— क्रिकेट प्रशिक्षक विकास कार्यक्रमका लागि बागमती प्रदेश क्रिकेट संघ र काठमाडौं महानगरपालिकाले सहकार्य गरेका छन् ।
विद्यालय भित्रका खेलकुद प्रशिक्षकलाई क्रिकेट प्रशिक्षण गराउन बागमती प्रदेश र काठमाडौं महानगरले सहकार्य गरेका हुन् ।
बागमती प्रदेश क्रिकेट संघले असोज १६ गतेदेखि २० गतेसम्म क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सञ्चालन गर्दैछ । सो कार्यक्रमलाई आवश्यक पर्ने सहयोग काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भएको छ ।
प्रशिक्षणमा सहभागी हुने प्रशिक्षकलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको लेभल जिरो प्रमाणपत्र समेत दिने बागमती प्रदेश क्रिकेट संघले जनाएको छ ।
कार्यक्रम सञ्चालनका लागि शुक्रबार बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरका तर्फबाट मेयर बालेन्द्र साह बालेनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । क्यानका केन्द्रिय सदस्य छुम्बी लामाको उपस्थितमा भएको सम्झौताले काठमाडौं महानगरमा मात्र नभएर दिर्घकालिन रुपमा सिंगो क्रिकेट विकास र विस्तारमा सहयोग पुग्ने बागमती महानगरले जनाएको छ ।
मेयर बालेन साहले समेत काठमाडौंमा क्रिकेट सिक्न जाने खेलाडीमा प्रशिक्षकको अभाव रहेको बताउँदै प्रशिक्षक उत्पादन गर्ने कार्यक्रममा महानगरले सहयोग गरेको बताएका छन् ।
'पारस खड्का, ज्ञानेन्द्र मल्ल, पृथु बाँस्कोटापछि काठमाडौंबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सघंको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दैछौ,' बालेनले भनेका छन् ।
प्रदेश संघको नेतृत्वमा आए लगत्तै अध्यक्ष खड्काले प्रशिक्षक जस्तो प्राविधिक जनशक्तिको उत्पादन कार्यक्रमको आयोजना गरेर क्रिकेट विकासको बाटो पहिल्याउन खोजेका छन् ।
मेयर बालेनले समेत खेलकुदको प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गरेर ग्रासरुटको विकासमा प्रोत्साहन गर्ने नीतिलाई अघि बढाएका छन् ।
पूर्व कप्तान खड्का क्यानको आसन्न केन्द्रिय निर्वाचनको नेतृत्वका मुख्य दाबेदार हुन् ।