
काठमाडौं— भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । ‘सुपर फोर’ चरणको मंगलबार खेलिएको महत्त्वपूर्ण खेलमा सहआयोजक श्रीलङ्कालाई उसैको घरेलु मैदानमा ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको भारतले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलङ्काले ४१.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन मात्र बनाउन सक्यो ।
भारतका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले ५३ रनको योगदान गरे । यसैगरी अर्का ओपनर शुभमन गिलले १९ रनको योगदान गरे ।भारतका लागि ईशान किशनले ३३ रन बनाए । केएल राहुल ३९ रनमा पेभेलियन फर्किए । अक्सर पटेलले २६ रनको योगदान गरे ।
भारतीय टोलीका लागि अन्य ब्याट्सम्यानले दोहोरो सङ्ख्यामा रन बटुल्न सकेनन् । पूर्वकप्तानसमेत रहेका प्रभावशाली ब्याट्सम्यान विराट कोहली तीन रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । भारतीय टोलीले अतिरिक्त रूपमा २१ रन पाएको थियो ।
श्रीलङ्काली टोलीका बलर दुनिथ वेल्लालागे एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४० रन खर्चिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा पहिलो पटक पाँच विकेट लिएका हुन् । चारिथ असालन्काले पनि चार विकेट हात पारे । उनले नौ ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिएका थिए । अर्को एक विकेट महिस थिकसनाले लिएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काका दुवै ओपनर ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । ओपनर पाथुम निसानका ६ रन बनाउँदै पेभेलियन फर्किए । दिमुथ करुणारत्ने पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
श्रीलङ्काका लागि छैटौँ नम्बरका ब्याट्सम्यान धनञ्जय डा सिल्भाले ४१ रनको योगदान गरे । उनले उत्कृष्ट पाली खेल्दै श्रीलङ्कालाई जिततर्फ डोर्याउने प्रयास गरेका थिए । ६६ बलको सामना गरी पाँच चौका हिर्काउँदै ३७।३ ओभरमा उनी आउट भएपछि श्रीलङ्का पराजयतर्फ अग्रसर भएको थियो ।
धनञ्जय डा सिल्भा र आठौं नम्बरका ब्याट्सम्यान दुनिथ वेल्लालागेले टोलीका लागि ६३ रनको साझेदारी गरेका थिए । दुनिथ वेल्लालागेले पनि टोलीका लागि अविजित ४२ रनको योगदान गरे । उनले ४६ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए ।
यसैगरी कुशल मेन्डिस १५ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । चौथो नम्बरका ब्याट्सम्यान सादिरा सामराबिक्रमा पनि १७ रन बनाउँदै आउट भए । चरिथ असालंका पनि २२ रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान दसुन सानका नौ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । महिस थिकसना दुई रनमा आउट भए । कसुन रजिथा एक रन बनाउँदै आउट भए ।
भारतीय टोलीका बलर कुलदिप यादवले चार विकेट लिए । जसप्रित बुमराहले दुई विकेट लिए । रविन्द्र जडेजाले पनि दुई विकेट कुम्ल्याए । मोहम्मद सिराजले एक विकेट हात पारे । हार्दिक पाण्डेयाले एक विकेट हात पारे ।
‘सुपर फोर’ चरणमा दुई खेल खेलेको भारतले चार अङ्क जोडेको छ । दुई खेल खेलेको श्रीलङ्का दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेल खेलेको पाकिस्तानको पनि दुई अङ्क छ । हालसम्म खेलेको दुवै खेलमा पराजय भोगेको बङ्गलादेश भने उपाधि होडबाट बाहिरिईसकेको छ ।
‘सुपर फोर’ चरणमा अब बिहीबार आयोजक पाकिस्तानले श्रीलङ्काको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा पुग्ने दोस्रो टोली बन्नेछ । उक्त खेल वर्षाका कारण बिथोलिएमा नेट रन रेटका आधारमा फाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । शुक्रबार भारत र बंगलादेशबीच ‘सुपर फोर’ चरणको अन्तिम खेल खेलिने छ ।