
काठमाडौं— विराट कोहली र के एल राहुलको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पाकिस्तानसामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एसिया कप सुपर फोर अन्तरर्गत रिजर्भ डेको खेलमा भारतले २ विकेटको क्षतिमा ३ सय ५६ रन बनाएको हो । राहुलले १०६ बलमा १ सय ११ रन बनाए । उनले १२ चौका र दुई छक्का प्रहार गरे । ९४ बल सामना गरेका कोहलीले १ सय २२ रनको शानदार पारी खेले । उनले ९ चौका र ३ छक्का हिर्काए ।

कोहलीको यो ४७ औँ एकदिवसीय शतक थियो । उनले कूल ७७ शतक बनाइसकेका छन् ।
त्यस्तै, कोहली एकदिवसीय खेलमा १३ हजार रन पुरा गर्ने पाँचौँ खेलाडी पनि गरेका छन् । इनिङका हिसाबले यो उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गर्न सफल भएका हुन् ।
ह्यारिस राउफ घाइते भएपछि पाकिस्तान सोमबारको खेलमा सुरुदेखि दबाबमा परेको थियो । टोलीका लागि शाहीन शाह अफ्रिदी र शहदाब खानले मात्र १–१ विकेट लिए ।

यसअघि आइतबारको खेलमा कप्तान रोहित शर्मा र शुभमनगिलले शतकीय साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात गरेका थिए । १२१ रनको सीमितमा शर्मा ५६ रन बनाउँदै शहदाब खानको बलमा आउट भए भने गिल पनि लगत्तै शाहीन शाह अफ्रिदीको शिकार बने । आउट हुन अघि उनले ५८ रन बनाए ।