
काठमाडौं— नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले साउदी अरेबियाको रियादमा जारी आईडब्लूएफ विश्व च्याम्पियनसिपमा ३ वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ वटा विधामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
विकासले यसअघि आफ्नै नाममा रहेका कीर्तिमान सुधार गरेका हुन् । स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेका उनले यसअघि १२३ केजीको कीर्तिमान राखेका थिए ।
उनले सो कीर्तिमान १९औं एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए । विकासले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउदै अर्को कीर्तिमान कायम गरे ।
यसअघि उनले १९ औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजीको कीर्तिमान रचेका थिए । कुलमा उनले उठाएको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो ।
उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् । श्रेष्ठसँगै खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे ।
सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।