News Griha :: न्यूजगृह
जावलाखेल शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अंकतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ ।

जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक–एक गोल गरे । यता सातदोबाटोका लागि भने दीपकसिंह ठकुरीले एक गोल फर्काए । खेलको ४३ औँ मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५० औँ मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेलको अग्रता दोब्बर बनाए ।

खेलको ७५ औँ मिनेटमा सातदोबाटोका दीपकले एक गोल फर्काए पनि जावलाखेल २–१ ले विजयी भयो । पराजित सातदोबाटो ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

त्यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

खेलको २० औँ मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले गोल गरे । त्यस्तै खेलको ६२ औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए तर त्यो चर्च ब्वाइज क्लबको उक्त अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको ७१ औँ मिनेटमा एनआरटीका रोहन खड्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एनआरटीका अर्का खेलाडी सरोज तामाङले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो ।

यस बराबरी खेलसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ भने चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ । चर्च ब्वाइज अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २०:२६
Weather Update