
काठमाडौं— जेनिथ, ज्ञान निकेतन र एनसीसीएसले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार जेनिथ सिनियर ब्वाईज, ज्ञान निकेतन जुनियर ब्वाईज र एनसीसीएस सिनियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।
बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर ब्वाईज फाइनलमा जेनिथले ज्ञान निकेतनलाई ४१–३८ ले पराजित गर्यो ।
जेनिथको जितमा प्रज्ज्वल बस्नेतले १८ अंक योगदान गरे । जुनियर ब्वाईज फाइनलमा दिप्सन अधिकारीको १० अंक सहयोगमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ३०–२६ ले हरायो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा एनसीसीएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता गर्यो । एनसीसीएसकी दिभा महर्जनले १३ स्कोर गरिन् ।
सिनियर ब्वाईजमा जेनिथका प्रज्ज्वल, जुनियर ब्वाईजमा ज्ञान निकेतनका जेसन घलान र सिनियर गर्ल्समा दिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर ब्वाइजमा सैनिक आवसीय महाविद्यालय, जुनियर ब्वाइजमा पुष्प सदन र सिनियर गर्ल्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई ज्ञान निकेतनका कार्यकारी प्रमुख अधिकृत विश्वजित कुँवर, एआईएका संस्थापक प्रिन्सिपल विमल घिमिरे, केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईं र केएमसीका निर्देशक डा.मेनाजकुमार थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाईजमा १८ तथा जुनियर ब्वाईज र सिनियर गर्ल्समा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।