काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जननायक बीपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने बीपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र विमल लाई पुरस्कृत गरेका छन् ।
सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। त्यस्तै बीपी प्रजातन्त्र सेनानी सम्मान रूपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानेले पाएका छन् । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ।
ट्रस्टले कोइरालाको एक सय १०औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा सो पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासन सहितको लामो सङ्घर्षपूर्ण जीवनयात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतमा रहेको चर्चा गरे।