बाग्लुङ— सहकारीको रकम हिनामिना गरेर फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ ।
सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी थालेको छ ।
नगरप्रमुख नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
बाग्लुङ बजारमा मुख्य कार्यालयसहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा कार्यालयमार्फत बचत संकलन बापतको उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशंकामा इन्टरपोलमार्फत खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया पुर्याएर इन्टरपोलमा पठाएको उनले बताए ।
‘नगरप्रमुख नेपाली फरार भएपछि बचत पीडितबाट उजुरी आह्वान गरिएको थियो । नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध एक हजार चार सय ८१ जनाले उजुरी दर्ता गराएका छन्’, प्रहरी नायब उपरीक्षक केसीले भने ।
उनका अनुसार बाग्लुङमा मात्रै सहकारीले आठ सय शेयर सदस्य र तीन हजार दुई सय बचतकर्ताको डेढ अर्ब बढी रकम बचत अपचलन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।