News Griha :: न्यूजगृह
ढोरपाटनका मेयर देवकुमार नेपाली सम्पर्कविहीन, अध्यागमनले राख्यो ‘कालोसूची’मा 

काठमाडौं— बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अध्यागमन विभागले ‘कालोसूची’मा राखेको छ ।

इमेज सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । विदेश भाग्न सक्ने भन्दै अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको हो । 

‘उनी भाग्न सक्ने भन्दै सूचना आएको थियो । सोही सूचनाको आधारमा अध्यागमनले यस्तो कदम चालेको हो,’ अध्यागम विभागका महानिर्देशक झलकराम अधिकारीले भने, ‘उनी आएको खण्डमा रोक्नु भन्ने सर्कुलेसन भइसकेको छ । र, उनको पहिचान खुल्ने फोटो र नामसमेत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीले पाइसकेका छन् ।’

अध्यागमन प्रमुख अधिकारीले हालसम्म उनी अध्यागमनको सम्पर्कमा आइनसकेको बताए । ‘प्रहरीले बाहिर समाएको खण्डमा भने हामीलाई थाहा हुँदैन,’ अधिकारीले भने ।  

जिल्ला प्रहरी कार्यालय बागलुङले पनि मेयर नेपाली सम्पर्क विहीन रहेको र उनको खोजी भइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख योगेन्द्रबहादुर खड्काले प्रशासनको निर्देशनमा उनको खोजी गरिरहेको जानकारी दिए । ‘सहकारीसँग सम्बन्धित उजुरी त हामीकहाँ आएको छैन । तर नेपाली केही दिनदेखि सम्पर्कविहीन भएको भन्ने प्रशासनको बुझाइपछि हामीलाई उहाँको खोजी गर्न लगाइएको हो,’ खड्काले भने ।  

मेयर नेपाली लण्डन भाग्न सक्ने प्रशासनको अनुमान छ । उनका छोरा लण्डनमा बस्छन् । ३ दिनदेखि मेयर नेपालीको मोबाइल अफ छ । सहकारीमा समस्या देखिएपछि उनले केही समयअघि सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए । मेयर नेपालीको बचन अनुसार पैसा फिर्ता नभएपछि बचतकर्ताहरू आन्दोलित भएका छन् । उक्त सहकारीसमेत बन्द छ । बचतकर्तामार्फत रकम उठाएर मेयर नेपालीले व्यक्तिगत रुपमा घरजग्गामा लगानी गरेको आरोप छ । मेयर नेपालीले सहकारीको एक अर्ब रुपैयाँ हिनामिना गरेको आशंका छ । उनी नेकपा एमालेबाट निर्वाचित मेयर हुन्  । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १४:४४
Weather Update