
पोखरा— दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी नेपालले पोखरामा एकमहिने तेस्रो राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।
देशभरका एक सय ४० जना चित्रकारद्वारा विभिन्न प्रकारका चित्र प्रदर्शनीमा राखिएको हो । उक्त प्रदर्शनीको बुधबार गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले उद्घाटन गरे ।
उक्त अवसरमा मन्त्री थापाले विश्वशान्तिका पक्षमा कोरिएका चित्रले ठूलो महत्त्व राख्ने बताए ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले चित्रकै प्रभावले विभिन्न देशमा ठूलाठूला राजनीतिक परिवर्तन आएको बताउँदै एउटै चित्रबाट धेरै कुराको सन्देश दिन सकिने भएकाले संसारभरि चित्रकारिताको महत्त्व झनै बढ्दै गएको बताए ।
एक महिनासम्म चल्ने चित्रकला प्रदर्शनीमा हजारौँको सङ्ख्याले अवलोकन गर्ने विश्वास लिइएको छ ।