News Griha :: न्यूजगृह
ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई

ताप्लेजुङ— ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा सुनसरीको जुट विकास फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको ३१औं मिनेटमा इलामका सरन बस्नेतले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । खेलको सुरुआती समयदेखि नै सुनसरीले इलामलाई दबाबमा राखेको थियो तर गोल गर्न भने सकेन ।

जितसँगै इलामले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुनसरीले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता र उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमलगायतले पुरस्कार वितरण गरिन् ।

लाखेजात्राका अवसरमा बिहीबारदेखि सञ्चालित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ फुटबल क्लबसहितका आठ टिम सहभागी थिए ।

लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको थियो । वि.सं. २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

कोभिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ ।

जिल्लाको पर्यटन प्रवर्द्धन, खेलकुदको विकास र इतिहासको निरन्तरताका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  २०:२९
Weather Update