News Griha :: न्यूजगृह
क्रिकेटको विकासका लागि पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह

काठमाडौं— राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानी ढिला गर्न नहुने बताएका छन् ।

एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले पर्याप्त तयारी विना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए ।

‘अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधारमा) इनभेस्ट (लगानी) गर्नुपर्छ । जहिल्यै पनि ती कुराहरूमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी,’ पौडेलले भने, ‘डोमेस्टिक स्ट्रक्चर छैन केही पनि । प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ ।’

यो खेलबाट नेपालले धेरै कुरा सिक्न सकेको उनले बताए । विशेष गरी भारतसँग नेपालको खेलबाट आफू धेरै खुशी भएको पौडेलले बताए । 
विश्वका उत्कृष्ट बलरहरुलाई सामना गर्न नेपाली टोली सफल हुनु नै ठुलो कुरा भएको उनले बताए। एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १६:३७
Weather Update