
काठमाडौं— नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलोपटक मासिक तलब दिने घोषणा गरेको छ ।
मंगलबार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक पाँच हजारका दरले तलब प्रदान गर्ने घाेषणा गरिएकाे हाे ।
सोही आवसरमा राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई नै ३ महिनाको तलब प्रदान गरिएको थियो ।
अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा राष्ट्रिय खेलाडी र बिजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक तलब दिइने भएको हो ।
पहिलोपटक तलब पाएपछि कप्तान अरुणा शाहीले यस किसिमको तलबले खेलाडीको हौसला बढाउने विश्वास व्यक्त गरिन् ।
महिला टोलीमा कप्तान अरुणासहित सरस्वती चौधरी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, सङ्गम महतो, निरुता ठगुन्ना, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द र उषा भण्डारी छन् ।
त्यस्तै राष्ट्रिय पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठले आफू कप्तान हुँदा मासिक तलब सुरुआत भएकोमा खुसी व्यक्त गरे ।
नेपाली टोलीमा श्रेष्ठ कप्तानसहित रविन चन्द, विशाल विक, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर टेकराज अवस्थी, धीरजकाजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरी, सम्राट भण्डारी र विनोद चन्द छन् ।