
काठमाडौं— नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगीता चैत दोस्रो साता अर्थात् ८ गतेबाट काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागीता रहने भएका हुन् । फिफा विन्डोअन्तर्गत आयोजना हुने लागेको प्रतियोगीता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जसअन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
फाइनल खेल चैत १७ गते हुनेछ । यसअघि घरेलु टोली नेपालले लाओससँग चैत ८ गते खेल्दा प्रतियोगीताको उद्घाटन हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस भिड्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आरम्भ गर्नेछ । प्रतियोगीतामा एन्फाले साधारण र भिआईपी प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ ।
सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगीताको आयोजना गरेको थियो ।
कीर्गिस्तानको यु–२३ टोली सहित नेपालले बंगलादेशसँग त्रिदेशीय प्रतियोगीता खेलेको थियो । उक्त प्रतियोगीतामा नेपालले फाइनलमा बंगलादेशलाई हराउँदै च्याम्पियन बनेको थियो ।