News Griha :: न्यूजगृह
नेपालले पहिलोपटक भारतसँग एसिया कप क्रिकेट खेल्दै, खेल कति बजे हुन्छ ?

काठमाडौं— एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सोमबार नेपालले छिमेकी देश भारतसँग खेल्दैछ ।  श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा हुने समूह ‘ए’ अन्तर्गतको खेल दिउँसो सवा ३ बजेबाट सुरु हुँदैछ ।

नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलोपटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।

नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो ।

अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अंक बाँडेको थियो ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०६:०२
Weather Update