
काठमाडौं— भारतीय राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर जसप्रित बुमराहले एसिया कपमा नेपालसँगको समूह ए को अन्तिम खेल नखेल्ने भएका छन् ।
बीसीसीआईस्रोतले दैनिक भास्करलाई भनेकाे छ,‘बुमराह पारिवारिक कारणले श्रीलंकाबाट मुम्बई गएका छन् । यद्यपि उनी पूर्ण रूपमा फिट छन् र सुपर–४ चरणका खेलका लागि श्रीलंका फर्किनेछन् ।’
सोमबारको खेलमा नेपाललाई हराउन भारत सफल भए सुपर–४ चरणको लागि छनोट हुनेछ । सुपर–४ मा टोलीको पहिलो खेल सेप्टेम्बर १० मा क्यान्डी मैदानमा पाकिस्तानसँग हुनेछ ।
भास्करका अनुसार नेपालविरुद्ध बुमराहको अनुपस्थितिमा भारतले मोहम्मद सामीलाई मौका दिन सक्छ । वर्षाका कारण खेल रद्द भएमा नेपाल–भारत दुवै टोलीले १–१ अंक पाउनेछन् । त्यसपछि पनि भारत सुपर–४ मा पुग्ने छ । सुपर–४ चरण सेप्टेम्बर ६ बाट सुरु हुनेछ ।
पाकिस्तान समूह ए बाट ३ अंकसहित छनोट भएको छ । भारतको एक अंक छ भने नेपालको अंक छैन ।