
काठमाडौं— आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यस अगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन ।
वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।
यसमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, केकी अधिकारीलगायतले अभिनय गरेका छन् । ‘प्रेमकथा कै निरन्तरता पाउनुहुनेछ । दर्शककै मायाले छैटौँ शृङ्खलासम्म आइपुगेका छौँ । यसपटक द्वन्द्व पनि छ । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ’, निर्देशक आचार्यले भने ।
सोही मितिमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शन हुँदैछ । लिम्बु समुदायको प्रेम कथालाई विषयवस्तु बनाइएको ‘जारी’मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बुलगायतले अभिनय गरेका छन् ।
सोही मितिमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’ मा प्रकृति श्रेष्ठ, वृद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गरेका छन् ।
प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नको लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ । ‘निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यहिरूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि ?’, अभिनेता राईले भने ।
यस्तै, वैशाख १ मै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाईएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन् ।
सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयम् निर्माता विष्टले अभिनय गरेका छन् । नयाँ वर्षलाई लक्षित गर्दै चार चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताए ।