News Griha :: न्यूजगृह
नेपाल १६ वर्षपछि विश्व भारोत्तोलनमा सहभागी हुँदै

काठमाडौं— नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ । यही भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आइडब्लूएफ विश्व च्याम्पियनसिपमा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन् ।

प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्त र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । गुप्त रियाद प्रस्थान गरिसकेका छन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कांग्रेसमा सहभागी हुन रियाद जानेछन् ।

व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टीकामाया सेप्टेम्बर ४ मा रियाद जाँदै छन् । सेप्टेम्बर ८ मा विशाल र विकास रियाड उड्नेछन् । अध्यक्ष श्रेष्ठ र खेलाडी सागर सेप्टेम्बर ११ मा रियाद प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २१:५८
Weather Update