
काठमाडौं— परराष्ट्र मन्त्रालयले चीनले हालै सार्वजनिक गरेको नक्साबारे स्पष्ट पारेको छ । गत अगष्ट २८ मा चीनले नेपालको भू–भाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो ।
चीनको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ । उक्त विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ । यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ ।’
यसका साथै मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।