News Griha :: न्यूजगृह
बहराइनमाथि नेपालको शानदार जित 

काठमाडौं— आईसीसी वुमन्स टी—२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।

मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति भेट्टाएको हो । महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो । 
मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा गर्‍यो । 

नेपालका लागि कविता कुँवरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन् । त्यस्तै  सिता रानामगरले अविजित २ रन जोडिन् । नेपालले १३ रन एक्स्ट्राबाट बटुलेको थियो।

बहराइनलाईसस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिएन भने खुसी डङ्गोलले दुई विकेट झारिन् । कविता कुँवर, पूजा महतो र रुविना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।  

     
   

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:५६
Weather Update