News Griha :: न्यूजगृह
आईसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालसँग मलेसिया पराजित

काठमाडौं— आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । 

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । ८५ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो । 

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । 

यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन् । 

बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक–एक विकेट लिए । 

मलेसियाले भने निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरै सिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाइन् । 

बलिङतर्फ नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई–दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक–एक विकेट लिए । नेपालले अब शुक्रबार दोस्रो खेल बहराइनसित खेल्ने छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १०:५६
Weather Update