
काठमाडौं— एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । पाकिस्तानले दिएको ३ सय ४३ रनको लक्ष्यमा नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।
नेपालले सुरुआतमै ३ विकट गुमाएको थियो । पहिलो विकेटका रूपमा कुशल भुर्तेल ८ रन बनाउँदै आउट भएका हुन् । उनलाई पाकिस्तानी बलर साहिन शाह अफ्रिदीले मोहम्मद रिजवानद्वारा क्याच गराएका हुन् ।
यसैगरी तेस्रो नम्बरका ब्याट्सम्यान कप्तान रोहित पौडेल भने दोस्रो विकेटका रुपमा शून्य रनमै पेभेलियन फर्किए उनलाई साहिन शाह अफ्रिदीले एलबीडब्लूको धरामा पारे । नेपालले दुबै विकेट १० रनको स्कोरमा गुमाएको हो ।
यसैगरी तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख पेभेलियन फर्किए । उनलाई पाकिस्तानी बलर नसिम शाहले इफ्तिखार अहमदद्वारा क्याच गराएका हुन् । उनी ८ रनको व्यक्तिगत स्कोरमा आउट भएका हुन् । नेपालले १४ रनमा तेस्रो विकेट गुमाएको हो ।
यसैगरी चौथो विकेटका रूपमा नेपाली ब्याट्सम्यान आरिफ शेख २६ रन बनाउँदै आउट भएका थिए । उनले ३८ बलमा पाँच चौका हाने । उनलाई तीव्र गतिका पाकिस्तानी बलर ह्यारिस रउफले बोल्ड गरेका थिए । आरिफ शेख र सोमपाल कामीले ५९ रनको साझेदारी गरेका थिए ।
यसैगरी पाँचौं विकेटका रूपमा सोमपाल कामी पेभेलियन फर्किएका थिए । उनी ४६ बलमा ४ चौकाको मद्दतले २८ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर ह्यारिस रउफले मोहम्मद रिजवानद्वारा क्याच गराएका थिए ।
यसैगरी नेपालको छैटौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ३ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर मोहम्मद नवाजले बोल्ड गरेका थिए । यसैगरी नेपालले सातौं विकेटका रूपमा गुल्शन झालाई गुमाएको थियो । उनी १३ रन बनाउँदै आउट भएका हुन् ।
उनलाई सदाब खानले फाखर जामनद्वारा क्याच गराएका थिए । आठौं विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमाएको थियो । उनी शून्य रनमै पेभेलियन फर्किएका थिए । उनी पाकिस्तानी बलर सदाब खानको बलमा बोल्ड भएका थिए ।
यसैगरी नवौं विकेटका रूपमा कुशल मल्ल ६ रन बनाउँदै आउट भएका थिए । उनले एक छक्का हाने । उनलाई सदाब खानले इफ्तिखार अहमदद्वारा क्याच गराएका हुन् ।
नेपालले अन्तिम विकेटका रुपमा ललित राजवंशी गुमायो । उनी शून्य रनमा सदाब खानको बलमा एलबीडब्लूको धरापमा परे । करण केसी ७ रनमा अविजित रहे ।