
काठमाडौं— घरेलु टोली पाकिस्तानले नेपाललाई जितका लागि ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ ।
बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको हो । पाकिस्तानलाई नेपाली बलरहरूले दबाबमा राखेका थिए ।
पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखर अहमदले शतक प्रहार गरे । अन्तिम ओभरमा नेपालका सोमपाल कामीको बलमा क्याच हुनुअघि बाबरले १३१ बलमा १४ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै इफ्तिखरले नटआउट १०९ रन जोडे । उनले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो ।
त्यसअघि नेपालले पहिलो पावरप्लेमा पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो । नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए ।
यस्तै कप्तान रोहित पौडेलले डाइरेक्ट हिटमार्फत इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए । नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्यो । उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिटमार्फत रनआउट गरेका थिए ।
नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए । उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए । बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए ।