News Griha :: न्यूजगृह
एसिया कप : कोशी प्रदेश क्रिकेट संघले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं— कोशी प्रदेश क्रिकेट संघ तथा मोरङ जिल्ला क्रिकेट संघले संयुक्त रूपमा एसिया कप क्रिकेट खेल विराटनगरमा निःशुल्क देखाउने भएपछि खेलप्रेमीको आकर्षण बढेको छ ।

वल्ड्रलिंकको सहकार्यमा एसिया कप क्रिकेट निःशुल्क देखाइने भएको हो । पहिलोपटक नेपालको एसिया कपअन्तर्गतको खेलहरू सेन्टर मलको छेउ नगर प्रहरी अगाडिको खाली जग्गामा प्रत्यक्ष प्रसारण गरिने तयारी भएको वल्ड्रलिंक विराटनगर शाखा प्रमुख सुरज दाहालले जानकारी दिए ।

१६ औँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ः१५ बजे हुनेछ । एसिया कप पाकिस्तान र श्रीलंकाले सञ्चालन गर्दै छन् । 

गत वैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको थियो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेको थियो ।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुने छन् । बाँकी नौ खेल श्रीलंकामा हुने छन् । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने छ ।

दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पाकिस्तान विरूद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलंकामा खेल्ने छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:२६
Weather Update