News Griha :: न्यूजगृह
एसिया कप : पाकिस्तानविरुद्ध मैदानमा जाँदा बन्नेछ यी रेकर्डहरू

काठमाडौं— एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्दै छ । घरेलु टोली पाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा प्रतिस्पर्धा गरेसँगै नेपालले अनेक रेकर्ड बनाउने छ । 

प्रतिस्पर्धाका लागि नेपाली टोली मैदानमा जानासाथ एक दिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्ने रेकर्ड बन्ने छ । यसअघि नेपालले शीर्ष स्थानको टोलीसँग प्रतिस्पर्धा गर्न पाएको थिएन् ।

यस्तै, नेपालले पाकिस्तानसँग पहिलोपटक खेलेको रेकर्ड बन्ने छ । यसअघि पनि पाकिस्तानी टोलीसँग प्रतिस्पर्धा गरेको थियो । तर, ती टोली शीर्ष टोली थिएन ।

औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एक दिवसीय खेल खेल्ने अवसर बन्ने छ ।

यसैगरी, पाकिस्तानसँगको प्रतिस्पर्धासँगै नेपालले एसिया कपमा खेलेको रेकर्ड बन्ने छ । यसअघि भएका संस्करणमा नेपालले एसिया कपमा सहभागी हुन पाएको थिएन ।

एसिया कपमा सहभागी टिममध्ये सबैभन्दा कम उमेरका कप्तान २० वर्षीय रोहितकुमार पौडेल बन्ने छन् ।

पाकिस्तानविरूद्ध मैदान उत्रिएसँगै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ५० औँ एक दिवसीय खेल खेल्ने छन् । सन्दीपले नेपालका लागि ४९ एक दिवसीय खेल खेल्दै १११ विकेट लिइसकेका छन् ।

नेपालले आईसीसीको चौथो स्थायी सदस्य राष्ट्रसँग एक दिवसीय खेल खेलेको रेकर्ड बन्ने छ । यसअघि नेपालले जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलिसकेको थियो ।

यसैगरी विश्व वरियताको शीर्ष खेलाडीसँग खेलेको रेकर्ड बन्ने छ । पाकिस्तानी टिममा ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम, तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमानविरुद्ध नेपाली खेलाडीले बलिङ गर्ने छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:४४
Weather Update