
कास्की— सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औं संस्करणमा ३ लाख १८ हजार बचत भएको छ ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका ३ संस्करणमध्ये २ वटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिए।
२२ औं संस्करणको गोल्डकप २०७९ पुस १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको थियो । उक्त प्रतियोगितामा १० टोली सहभागी भएका थिए । गोल्डकपमा टिकट बिक्री एवम् विभिन्न प्रायोजकबाट ९४ लाख ६५ हजार रकम संकलन भएको थियो ।
महासचिव अधिकारीका अनुसार उक्त प्रतियोगितामा १० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्दा टिकट बिक्रीबाट १७ लाख ८६ हजार संकलन भएको थियो ।
सो गोल्डकपको उपाधि संकटा क्लबले हासिल गरेको थियो भने अमेरिकी टोली भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना यूएस उपविजेता बनेको थियो । खेलका माध्यमबाट युवालाई कुलतबाट जोगाउन २०५८ सालमा क्लबको स्थापना गरिएको थियो ।