
काठमाडौं— एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
१६ औं संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा बुधबार दिउँसो ३ः४५ बजे हुने भएको हो ।
नेपाली क्रिकेट टोली एक दिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा छ । नेपाल र पाकिस्तानबीच बुधबार पहिलो भेट हुन लागेको हो ।
एसिया कप पाकिस्तान र श्रीलंकाले सञ्चालन गर्दै छन् । गत वैशाखमा सम्पन्न ‘एसीसी प्रिमियर कप’मा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो ।
उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेको थियो ।
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुने छन् भने बाँकी नौ खेल श्रीलंकामा हुने छन् । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहने छ ।
नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग भदौ १८ गते श्रीलंकामा खेल्ने छ ।